
काठमाडाैं - सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशन ग्रहण गरिसक्न र निर्धारित पोसाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् । यसअघि, नै सत्ता साझेदार राजनीतिक दलका बिचमा अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।
सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।