Harsamaya
नेपाली विशिष्टताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवाद नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका छन् । 

 बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले नेपाली विशिष्टताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान भएको बताएका हुन् । 

‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ । यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ,’ उनले भने । 

प्रचण्डले आठ घण्टा कार्य दिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको सिकागो सहरका मजदुरहरूले गरेको संघर्षलाई स्मरण गर्दै यस ऐतिहासिक दिनमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यवद्धता प्रकट गरेका छन् । 

उनले नेपालमा श्रमजीवी जनसमुदायको संघर्ष र बलिदानले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update