
काठमाडौं - नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे डे को अवसरमा भोलि केन्द्रीय कार्यक्रम जावलाखेल र देशैभर र्याली सहित श्रमिक सभा गर्दैछ । जावलाखेलमा हुने कार्यक्रमलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा , नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस, प्रचारप्रसार विभाग सचीव सुदिप बुढाथोकीले बताए ।
कुपण्डोलमा बिहान ७:३० बजे जम्मा भई र्याली सहित जावलाखेलमा श्रमिक सभा हुनेछ बुढाथोकीले जानकारी दिए ।
यसैगरी सातै प्रदेशमा प्रदेश स्तरीय श्रमिक सभा र सबै जिल्लाहरुले विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउँदै छ । ट्रेड युनियन कांग्रेसले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमिक पञ्जिकरण, श्रम ऎन संशोधन , आन्तरिक रोजगारीको सिर्जना , जलवायु संकटको न्यायोचित रुपान्तरण र सामाजिक न्यायलाई प्रमुख मुद्दाको रुपमा उठाएको छ ।
सन् १८८६ मा अमेरिकाको शिकागो सहरमा श्रमिकहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी शुरु गरेको श्रमिक आन्दोलनबाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको हो ।