Harsamaya

काठमाडौं - जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् । 

उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउँदै एकीकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् । 

‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौं । यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्ने ठूलो सन्देश गएको छ । हामी यसको भर्त्सना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू बसेर अगाडिको छलफल  बढाउँछौ ।’ उनले भने ।

उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारू मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए । 

उनले भने, ‘राज्यले पहिचानवादीहरू, थारु, मदेशीहरू, सिमान्तकृत वर्गहरु एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिँदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भइरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरू कारण केही थिएन् ।’
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update