Harsamaya
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित
जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ ।

काठमाडौं -  रेशम चौधरीको पक्राउको विरोधमा सिके राउतले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालबाट सो आपत्ति जनाएका हुन् । 

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ, यसको हामी घोर भर्त्सना गर्दछौं,’ राउतले भनेका छन्, ‘यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र समग्र नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच आज एकता घोषणा गर्ने कार्यक्रम तय भएको थियो । दुवै दलको यसअघिको सहमति अनुसार कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा पार्टी एकता भएको घोषणा गर्न लागिएको थियो।

सोही कार्यक्रमका लागि कार्यक्रमस्थल पुगेका चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर हत्याकाण्डमा दोषी देखिएका उनलाई माफी दिँदै प्रचण्ड सरकारले उन्मुक्ति दिएको थियो । हत्याकाण्डमा दोषी ठहर गर्दै सर्वोच्चले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । 

सोही हत्याकाण्डलाई आधार बनाएर प्रहरीले आज चौधरीलाई पक्राउ गरेको हो । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । चौधरीको पक्राउसँगै दुई पार्टीबीचको पार्टी एकता कार्यक्रम अनिश्चित बनेको छ ।

<>

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update