Harsamaya
आजको राशिफल: कर्म, प्रेम र यात्रामा कुन राशिको अवस्था कस्तो ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज २०८२ वैशाख ७ गते आइतबार । २०२५ अप्रिल २० तारिख । वैशाख कृष्णपक्ष सप्तमी तिथि । सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३१ मिनेटमा हुनेछ ।

 मेष 
परिबन्ध र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ । नियमित र व्यवहारिक खर्च बढ्न सक्छ । तर वैदेशिक प्रयोजनको कामबाट मनग्गे लाभ हुनेछ । विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो । अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । 

वृष 
दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । कुनै काम त्यस्ता हुन्छन्, जसमा घर व्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ । कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्न सक्छ । 

मिथुन 
क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ । लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुबिधा भएमा अभिभावक वा बुज्रुग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ । त्यसैले आलस्य त्यागेर मेहनत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो । प्रतिस्पर्धीसमेत सहयोग माग्दै तपाईंसामु आउन सक्छन् । 

कर्कट
रोमान्टिक जीवनभन्दा पनि यति बेला घर परिवार र अभिभावक महत्त्वपूर्ण बन्न सक्छन् । भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यापार बट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ । नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । 

सिंह 
स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ । ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो । तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र संकटले घेरेको समय छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ । त्यसैले दुराशा र महत्त्वाकांक्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । 

कन्या 
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ । अलि मेहनत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलबाड त्यागेको ठीक हुन्छ । कल्पनाशील र भावुक बन्ने दिन हो। फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ । नत्र तपाईंका अपेक्षाहरूमा कमी आउन सक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ । तर आज घर परिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । 

तुला 
बढी खर्च हुने तथा व्यर्थका काममा अलमलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो। नयाँ करार वा सम्झौताको सम्भावना पनि देखिन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो । नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । 

वृश्चिक 
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो । जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो खुलस्त पार्ने दिन हो । पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला। एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । 

धनु 
बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिँदैन । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । घरपरिवारबाट पनि शुभ समाचार आउने दिन हो, मातापिता वा वयोबृद्ध व्यक्तिको आशीर्वाद प्राप्त हुनेछ । 

मकर 
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ । अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो । कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । सहकार्यको भावना विकसित हुनेछ । पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । 

कुम्भ
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ । आम्दानीको पाटो सहज नै देखिन्छ । तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ । तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । 

मीन 
विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । स्व निर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकांक्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update