
काठमाडौं - नेपाल र थाइल्याण्ड बीचमा विभिन्न समझदारी भएका छन् ।
नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले र थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसु फाकिजकोसोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् भने पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन् ।
त्यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासंघ र थाइल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो ।
दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे । यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ ।
साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
त्यस्तै नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र सियाम विश्व विद्यालयबीच पनि सम्झौता भएको छ ।