Harsamaya
प्रधानमन्त्रीले टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा भने - विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिनू
हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग आज टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गरेका हुन । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए ।

आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका हुन । 
 
संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update