Harsamaya
सरकारको राजस्व संकलनभन्दा खर्च बढी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व संकलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ । जसमध्ये चालु खर्च पाँच खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रहेको छ ।

यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रहेको छ ।

यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा तीन खर्ब ५० अर्ब सात करोड नगद मौज्दात रहेको छ । यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो । गत असार मसान्तसम्ममा सरकारी खातामा रु ८३ अर्ब ९९ करोड मौज्दात रहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update