Harsamaya
सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा निस्किएको र्‍याली ।

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको तथा फोहोरमैला व्यवस्थापन उल्लङ्घन गरेको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।

आइतबार आयोजित कार्यक्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायतका स्थानहरूमा पार्टी समर्थकहरूले भेला भएर सार्वजनिक सडक, सडकपेटी, आइल्यान्ड तथा रेलिङहरूमा क्षति पुर्‍याएको तथा फोहोर फैलाएको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले जारी गरेको चिठीअनुसार, फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, र आर्थिक ऐन २०८१ का प्रावधानअनुसार जरिवाना लगाइएको हो।

पूर्वराजा शाहको स्वागतमा संलग्न भीडले सार्वजनिक स्थानहरूमा जथाभावी फोहोर फाल्ने, हरियाली संरक्षणका लागि राखिएका बिरुवा र संरचनाहरूमा क्षति पुर्‍याउने तथा यातायात व्यवस्थामा अवरोध सिर्जना गर्ने जस्ता गतिविधि गरेको उल्लेख गर्दै महानगरले कारबाही अघि बढाएको हो।

3fa38483-4e9d-44ca-932e-7bdf84b24743-1741538317.png
 

यस घटनाले राजनीतिक कार्यक्रमहरूमा सार्वजनिक सम्पत्तिको दुरुपयोग र वातावरण प्रदूषण जस्ता विषयप्रति स्थानीय तह कति संवेदनशील छन् भन्ने सन्देश दिएको छ। महानगरको निर्णयलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्, भने राप्रपाले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update