काठमाडौं - आपराधिक मुद्दाको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक हुन थालेपछि नेपाल प्रहरीले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अनुसन्धानका गोप्य सूचना र विवरण चुहावट भइरहेको भन्दै यस्तो कार्यमा संलग्न नहुन प्रहरी कर्मचारीलाई सचेत गराएको हो ।
प्रहरीका अनुसार आपराधिक मुद्दाको अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन तथा प्रहरी आचरणविपरीतको गम्भीर कसुर हो ।
यस्ता गतिविधिले अनुसन्धानमा रहेका शङ्कित व्यक्तिहरूको व्यक्तिगत गोपनीयतामा असर पुर्याउनुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको सङ्गठनात्मक गरिमामासमेत आँच पुर्याएको प्रहरीको भनाइ छ ।
प्रहरी नियमावली, २०७१ को नियम ७१ (आचरणसम्बन्धी व्यवस्था) उल्लङ्घन गर्ने कर्मचारीलाई नियम १०९ र ११३ बमोजिम कारबाही हुन सक्ने प्रहरीले जनाएको छ । त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) बमोजिम गोप्य सूचना तथा अभिलेख अनधिकृत रूपमा खुलासा गर्ने र विश्वासघातसम्बन्धी कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत व्यक्तिलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न र त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिएको छ ।
त्यसैगरी, पूर्वप्रहरी कर्मचारी वा बहालवाला प्रहरी कर्मचारीमध्ये कसैले यस्ता गैरकानुनी तथा अनुशासनविपरीतका गतिविधिमा संलग्न भएको वा त्यस्ता कार्यलाई प्रोत्साहन, सहयोग तथा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।
प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अर्बिन्द नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा सङ्गठनप्रतिको जिम्मेवारीप्रति सदैव सचेत र जिम्मेवार रहन अनुरोध गरिएको छ ।

