Harsamaya
ठमेलबाट ३ किलो कोकेनसहित  दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको ठमेलबाट तीन किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो ।

उनले साथमा ल्याएको ह्यान्ड ब्यागेजको फल्स बटम बनाएर लुकाइएको अवस्थामा तीन किलो कोकेन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त कोकेन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि कोकेन बुझेर लैजाने क्रममा पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा दक्षिण कोरियाली नागरिक लीले पेरुबाट कोकेन काठमाडौं ल्याउने र भारतीय नागरिक वाघमारेले काठमाडौं हुँदै भारतको मुम्बई पु¥याउने योजना बनाएको खुलेको छ । 

प्रहरीका अनुसार ली सन् २०२६ नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएका थिए । यसअघि पनि उनी सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलस्थित एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको अभिलेखबाट देखिएको छ ।

पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको ब्युरोले जनाएको छ । कोकेन लुकाइएको सुटकेस दिने र लिने क्रममा पासवर्ड प्रयोग भएको समेत अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट तीन किलो कोकेन, एक थान राहदानी, एक थान आधार कार्ड र दुई थान मोबाइल फोन बरामद गरेको छ ।

बरामद कोकेनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ ।

नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर अन्तर्राष्ट्रिय लागूऔषध कारोबार हुन सक्ने आशंकामा विदेशी नागरिकहरूको आपराधिक गतिविधि तथा पृष्ठभूमिबारे निगरानी र प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेको ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै विदेशी नागरिकमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update