Harsamaya
सिन्धुलीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, श्रीमतीसहित चार जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुली - सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

आइतबार दिउँसो काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मंसिर १३ गते दिउँसो करिब १ः१५ बजे बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर जीपमा सवार पाँचै जनाको उद्धार गरेको थियो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो । उपचारका क्रममा दिउँसो २ः१५ बजे चिकित्सकले जीप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी अन्दाजी ४२ वर्षीय मातृका भट्टराईलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, सोही स्थानकी अन्दाजी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन् ।

घाइतेमध्ये प्रमिला, आयन्स र रेनुकाको अवस्था मध्यम रहेको छ भने अतर्वको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update