काठमाडौं - काभ्रेपलाञ्चोकका विभिन्न रिसोर्टमा ठूलो संख्यामा चिनियाँ नागरिक मासिक रूपमा लाखौँ रुपैयाँ भाडा तिरेर बस्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसैक्रममा प्रहरीले पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले मंगलबार मंसिर १ गते रिसोर्टमा छापा मारेको हो। प्रहरीले रिसोर्टबाट केही थान ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ।
नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र पाँच जना महिला रहेका छन्। रिसोर्टका दुईवटा कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
प्रहरीका अनुसार पाँचखालको ह्वाइट पार्क रिसोर्टबाहेक धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएका छन्।
जिल्लाका विभिन्न रिसोर्टमा विदेशी नागरिकको लामो समयदेखिको बसाइँ र उनीहरूका गतिविधिबारे प्रश्न उठेपछि प्रहरीले अनुसन्धान थालेको हो। विशेषगरी ठूलो संख्यामा चिनियाँ नागरिक एकै स्थानमा बसेर के गतिविधि गरिरहेका छन् र उनीहरूको बसाइँको उद्देश्य के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
नियन्त्रणमा लिइएका चिनियाँ नागरिक र बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

