इनरुवा - सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा दुई हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ ।
जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा दुई हजार २८२ किलोग्राम ३१ ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक लभकुमार सापकोटाले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उक्त परिमाणको गाँजा बरामद भएको उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनमा १० किलोग्राम, भदौमा एक हजार ६०१ किलोग्राम ९६ ग्राम, असोजमा ६३७ किलोग्राम ३ ग्राम र कात्तिक महिनामा ३३ किलोग्राम ५ ग्राम गाँजा बरामद भएको हो ।
यस अवधिमा गाँजा कारोबारमा प्रयोग भएका ९ वटा मोटरसाइकल तथा एउटा एम्बुलेन्ससहित ३ वटा चारपाङ्ग्रे सवारीसाधनसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

