दैलेख - दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्की रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ८ः५६ बजे मृत्यु भएको हो।
आज बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा जीप चालक कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै, सोही गाउँपालिका–७ का १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा पनि गम्भीर घाइते भएका छन्। गंगको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने तपेन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनामा सन्नित्रिवेणी गाउँपालिका–६ की ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि गम्भीर घाइते भएका छन्। कैसि विषादी सेवन गरेकी बिरामीसमेत हुन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।
दुर्घटनापछि सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

