काठमाडौं - संविधानविद् तथा विश्लेषक विपिन अधिकारीले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिहारलाई तिहारकै रूपमा मनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अधिकारीले तिहारलाई केवल लक्ष्मीपूजा वा दीपावलीका रूपमा सीमित नगर्न आग्रह गरेका हुन् । उनले दशैँ, छठ, शिवरात्रि, कृष्णजन्माष्टमी र रामनवमी फरक–फरक पर्व भएजस्तै तिहारको आफ्नै विशिष्ट पहिचान र महत्त्व रहेको उल्लेख गरे ।
‘तिहारलाई तिहार नै भन्नुपर्छ । दशैँ तिहार होइन, छठ तिहार होइन, न शिवरात्रि, कृष्णजन्माष्टमी वा रामनवमी नै तिहार हो,’ उनले भनेका छन्, ‘लक्ष्मीपूजा वा दीपावली मात्र भनेर तिहारको महत्त्व घटाउनु हुँदैन ।’
अधिकारीका अनुसार तिहार नाम र प्रचलन दुवै दृष्टिले विशुद्ध नेपाली परम्परामा आधारित पर्व हो । यसलाई यमपञ्चकका रूपमा पनि मनाइन्छ । तिहारले मानिस, प्रकृति, पशुपक्षी र परिवारबीचको अन्तरसम्बन्धलाई विशेष रूपमा उजागर गर्ने उनले बताए ।
उनले तिहारका पाँच दिनले फरक–फरक सम्बन्ध र सामाजिक महत्त्वलाई प्रतिबिम्बित गर्ने बताए । काग तिहारले पक्षी जगत्प्रतिको सम्मान, कुकुर तिहारले मानिस र पशुबीचको मित्रता तथा विश्वास, गाई तिहारले जीविकोपार्जन र समृद्धिको महत्त्व तथा गोरु तिहारले कृषि जीवनमा पशुको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने अधिकारीको भनाइ छ ।
त्यस्तै, भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, संरक्षण र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने उनले उल्लेख गरे । नेवार समुदायमा यस अवधिलाई स्वन्ति पर्वका रूपमा मनाइने र म्हपूजा अर्थात् आत्मपूजा तथा नेपाल संवत्को नयाँ वर्षको विशेष महत्त्व रहने पनि अधिकारीले बताए ।
उनका अनुसार तिहारले मानिसलाई आफ्नो अस्तित्व प्रकृति, पशुपक्षी, परिवार र समाजसँग अन्तरनिर्भर रहेको स्मरण गराउँछ । मानिस मात्र महत्त्वपूर्ण नभई समग्र प्रकृति र जीवजगत्सँगको सहअस्तित्व पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश तिहारले दिने उनले बताए ।
उनले परम्परागत रूपमा गाई तिहारका दिन बेलुकी लक्ष्मीपूजा गर्ने चलन रहे पनि तिहारलाई लक्ष्मीपूजा वा दीपावलीमा मात्र सीमित गर्न नहुने बताए । दियो हरेक दिन बालिने र दीप प्रज्वलनले उज्यालो तथा आशाको प्रतीकात्मक अर्थ दिने उनले बताए ।
नेपालका लगभग सबै समुदायले आ–आफ्नै मौलिक शैली र परम्पराअनुसार तिहार मनाउने उल्लेख गर्दै अधिकारीले यस पर्वमा विविधता र समानता दुवै रहेको बताएका छन् । सबै समुदायका मौलिक परम्परा तिहारकै व्यापक सांस्कृतिक स्वरूपभित्र समेटिने उनको धारणा छ ।
‘तिहार गाई तिहारको बेलुकी गरिने लक्ष्मीपूजा वा दीपावली मात्र होइन, मानवीय सहअस्तित्वको समग्र सांस्कृतिक अभिव्यक्ति पनि हो,’ उनले भनेका छन् ।
आफ्नो मौलिक परम्परा छाडेर अरूको सिको गर्नु उचित नहुने भन्दै अधिकारीले दीपावलीको मात्र शुभकामना दिनुभन्दा तिहारको शुभकामना दिन आग्रह गरे ।
उनले असल परम्परालाई निरन्तरता दिँदै नेपाली सभ्यता र सांस्कृतिक पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिए । अधिकारीले सबैलाई तिहारको शुभकामना व्यक्त गरे ।

