जुम्ला - जुम्लामा बडादशैंको फूलपातीका दिन आयोजना हुँदै आएको परम्परागत घोडा दौड प्रतियोगिता यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । पछिल्लो समय गुठीचौर गाउँपालिकाको पर्यटकीय स्थल गोठीचौरमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता यस वर्ष ‘संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न गरिएको हो ।
कर्णाली खेलकुद क्लबको आयोजना तथा गुठीचौर युवा क्लबको सह–आयोजनामा नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । यस वर्षको महोत्सवको मुख्य आकर्षणका रूपमा पहिलो पटक महिला घोडा दौड प्रतियोगिता समेत समावेश गरिएको थियो । महिलाहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा ८ जना महिला खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए ।
महिला घोडा दौड प्रतियोगितातर्फ गुठीचौर गाउँपालिका–१ की धनलक्ष्मी ऐडी प्रथम भएकी छन् । यस्तै गुठीचौर गाउँपालिका–२ की सपना बोहोरा द्वितीय, शर्मिला बोहोरा तृतीय र पविता बोहोरा चौथो भएका छन् । त्यसैगरी पुरुष घोडा दौडतर्फ ३४ जना खेलाडी सहभागी भएका थिए । जसमा गुठीचौर गाउँपालिका–१ का ईश्वर ऐडी प्रथम, गुठीचौर–२ का शंकर रोकाया द्वितीय, गुठीचौर–१ का अमृत बुढा तृतीय, गुठीचौर–१ का प्रेम बोहोरा चौथो र गुठीचौर–१ कै निशाब रोकाया पाँचौँ स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः रु. १५,०००, रु. १०,०००, रु. ५,०००, रु. २,००० र रु. २,००० नगद पुरस्कारसहित मेडल प्रदान गरिएको कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोजकुमार शाहीले बताए ।
गुठीचौर गाउँपालिका अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रशिक्षक तथा कर्णाली खेलकुद क्लबका संरक्षक हरिबहादुर रोकाया र वडाध्यक्ष दीपबहादुर ऐडी लगायतको विशेष आतिथ्य रहेको थियो ।
‘जुम्ला जिल्लामा पहिलो पटक आयोजित महिला घोडा दौड प्रतियोगितामा भाग लिने अवसर पाइयो । ८ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रथम स्थान हासिल हुँदा निकै खुसी लागेको छ । १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउँदा थप उत्साह मिलेको छ । महिलाले पनि आँट र साहस गरे केही कुरा असम्भव हुँदैन भन्ने आत्मविश्वास बढेको छ,’ प्रथम भएकी धनलक्ष्मी ऐडीले बताइन् ।
आयोजकका अनुसार यस किसिमका प्रतियोगिताले परम्परागत संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्नुका साथै जुम्ली घोडाको पहिचान स्थापित गर्न, स्थानीय पर्यटन प्रवद्र्धन गर्न र समुदायको सांस्कृतिक एकता बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र सहभागिता जनाउने गुठीचौर गाउँपालिका, गुठीचौर युवा क्लब, सम्पूर्ण खेलाडी, सहयोगी, स्वयंसेवक तथा स्थानीयवासीहरूलाई कर्णाली खेलकुद क्लबले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । - दानबहादुर बुढा

