काठमाडौं - नेपाल प्रज्ञा–प्रतिष्ठानले सशुल्क सवारी पार्किङ सञ्चालनका लागि दैनिक ज्यालादारीमा कर्मचारी माग गरेको छ।
प्रतिष्ठानले असोज २८ गते सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई कात्तिक ९ गते सोमबारभित्र व्यक्तिगत विवरणसहितको निवेदन इमेलमार्फत पठाउन आग्रह गरेको छ।
कर्मचारीका लागि नेपाली नागरिक हुनुपर्ने, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र ए तथा बी वर्गको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै, टाइम कार्ड तथा बिलिङ मेसिन चलाउन जान्ने र दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
प्रतिष्ठानका अनुसार छनोट हुने कर्मचारीले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्नुपर्नेछ। सार्वजनिक बिदाका दिनसमेत काम गर्नुपर्ने सूचनामा उल्लेख छ। दैनिक आठ घण्टाको पारिश्रमिक १ हजार १०० रुपैयाँ तोकिएको छ। थप तीन घण्टाको अतिरिक्त पारिश्रमिकसमेत उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ।
इच्छुक उम्मेदवारले [email protected] मा निवेदन पठाउन सक्नेछन्। उम्मेदवारको छनोट प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट गरिनेछ। कात्तिक १० गते मंगलबार दिउँसो ४ बजे सम्पर्क गर्न भनिएको छ।
अन्तर्वार्तामा सहभागी हुँदा सक्कल कागजात साथमा ल्याउनुपर्ने र निवृत्तिभरण पाइरहेका कर्मचारीको निवेदन स्वीकार नगरिने प्रतिष्ठानले स्पष्ट पारेको छ।

