काठमाडौं - सरकारले प्रस्तावित गरेका १३ देशका राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गतेदेखि हुने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत भ्रमणमा जानुअघि नै त्यहाँ नेपाली राजदूतको नियुक्ति भइसक्ने गरी असोज २६ गते भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेबाट सुनुवाइ आरम्भ हुने भएको छ ।
सिफारिस भएका राजदूतमध्ये साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनारमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर उजुरी परेको छ ।
उनीमाथि रास्वपा सांसद खगेन्द्र सुनारसँग मिलेर विभिन्न व्यक्तिबाट पैसा उठाएको र व्यवस्थापन गरेको आरोप लागेको छ । यस्तै, प्रहरीको डिआईजी बढुवामा रकम लेनदेनमा संलग्न रहेको, दलित आन्दोलनका नाममा संकलित रकम दुरुपयोग गरेको आरोप लागेको छ ।
संसदीय सुनुवाइ समितिमा सुनारमाथि गम्भीर आरोप लगाउँदै असोज १४ गते उजुरी परेको हो । दर्ता नम्बर ०३ भएको उजुरीमा उनले किशोरी र उनको आमाको संवेदनशील फोटो विभिन्न व्यक्तिलाई पठाएको उल्लेख छ ।
उजुरीमा ‘छाया अर्याल’ नाम लेखिएको एक महिलासँग सुनारको लामो समयसम्म सम्बन्ध रहेको र सो क्रममा मानसिक यातना तथा धम्की दिइएको आरोप लगाइएको छ ।
ती महिलाले सुनारबाट आफू तथा आफ्नो परिवारका सदस्यले धम्की पाएको र अपमानजनक व्यवहार खेप्नुपरेको जानकारी गराएकी थिइन् ।
त्यतिबेला पीडितले जावलाखेलस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा उजुर गरेको र प्रहरीको उपस्थितिमा सुनारले भविष्यमा सम्बन्धित महिला तथा उनको परिवारविरुद्ध धम्की, दुव्र्यवहार वा हिंसाजन्य गतिविधि नगर्ने प्रतिबद्धतासहित कागज गरेका थिए ।
उक्त कागज महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला प्रहरी परिसर, ललितपुरमा सुरक्षित रहेको दाबी छ । महिलाको अपमान गर्ने व्यक्तिलाई कुनैपनि हालतमा राजदूत नबनाउन उजुरकर्ताले आग्रह गरेका छन् ।

