Harsamaya
लोककल्याणकारी विज्ञापनको बिल–बिजकसहितका कागजात बुझाउन बोर्डको आग्रह
विज्ञापन बोर्ड ।

काठमाडौं - विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकालाई बिल–बिजकसहितका आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।

बोर्डले आर्थिक वर्ष २०७९/८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका सबै पत्रपत्रिकालाई आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापतको बिल–बिजकसहितका कागजात असोज १५ गतेसम्म बुझाउन भनेको हो।

बोर्डका अनुसार सम्बन्धित पत्रपत्रिकाले कागजात आफ्नो सम्बन्धित जिल्ला हुलाक कार्यालयमा बुझाउनुपर्नेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त पत्रका आधारमा लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २०८२ को दफा ९ को उपदफा (२) मा उल्लेखित व्यवस्था २०८३ कात्तिक १ गतेदेखि लागू हुने भएकाले साउन, भदौ र असोज महिनामा प्रकाशन भएका लोककल्याणकारी विज्ञापनको मासिक दररेट, भुक्तानीलगायतका व्यवस्था सोही कार्यविधिअनुसार हुने बोर्डले जनाएको छ।

बोर्डले कार्यविधिको अनुसूची–३ मा उल्लेखित मासिक दररेटअनुसार बिल–बिजकसहित भुक्तानीका लागि कागजात पेश गर्न पनि पत्रपत्रिकालाई आग्रह गरेको छ। मासिक दररेटभन्दा कम रकमको बिल–बिजक जारी गरिएको भए अपुग रकम बराबरको बिल–बिजकसमेत सम्बन्धित हुलाक कार्यालयमा बुझाउनुपर्ने बोर्डले जनाएको छ।

यस्तै, विज्ञापनसम्बन्धी कानुनी व्यवस्थाअनुसार बोर्डमा सूचीकृत नभई विज्ञापन प्रकाशन तथा प्रसारण गर्न नपाइने व्यवस्थासमेत भएकाले सम्बन्धित पत्रपत्रिकाले आवश्यक प्रक्रिया पूरा गर्न बोर्डले आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update