दोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि परिवारबाट टाढा रही न्यून तलबमा कार्यरत नेपाली श्रमिकलाई आफ्ना प्रियजनसँग पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन २०२६–सिजन १’ अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानबारे जानकारी दिन शनिबार दोहास्थित गोर्खाली रेस्टुरेन्ट, मुन्तजामा पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा कतारस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता, व्यवसायी, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत छनोट गरिएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमणमा ल्याइने जनाइएको छ । परिवारका सदस्यको हवाई टिकट, विमानस्थलमा स्वागत तथा बिदाइ, तारे होटलमा बसोबास र कतारका विभिन्न आकर्षक स्थलको भ्रमणको व्यवस्था गरिनेछ ।
अभियानको मुख्य प्रायोजन भिक्टोरिया गोल्ड एन्ड डायमन्ड तथा सहकार्य क्युएफएम रेडियो नेटवर्कले गर्ने जनाइएको छ ।
एनआरएनए कतारका अनुसार लामो समयको पारिवारिक विछोडपछि श्रमिक र उनका परिवारबीच माया, आत्मीयता र खुसी साट्ने अवसर प्रदान गर्नु अभियानको मुख्य उद्देश्य हो । कतारको विकासमा योगदान पुर्याइरहेका नेपाली श्रमिकको भावना र पारिवारिक आकाङ्क्षालाई सम्मान गर्दै अभियान अघि बढाउन लागिएको संघले जनाएको छ ।
अभियानको छनोट प्रक्रिया तथा आगामी कार्यक्रमबारे थप जानकारी संघका आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गरिने जनाइएको छ । संघले अभियान सफल बनाउन नेपाली समुदाय, संघ–संस्था तथा सञ्चारमाध्यमबाट निरन्तर साथ, सुझाव र प्रचार–प्रसारमा सहयोगको अपेक्षा गरेको छ ।
पत्रकार सम्मेलनमा सहभागी अतिथि, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपाली समुदायप्रति संघले आभार व्यक्त गरेको छ ।

