सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट भोजराज श्रेष्ठ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुन निवासी श्रेष्ठ विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। उनले २०४२ सालको सत्याग्रह समर्थनमा भएको विद्यालय बन्द आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने २०४४ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए। २०४६ सालको पञ्चायतविरोधी जनआन्दोलनमा पनि उनी सक्रिय थिए।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४७ सालमा कांग्रेस धुस्कुन गाउँ इकाइ समिति गठन गरी संस्थापक सचिवको जिम्मेवारी सम्हालेका श्रेष्ठले २०४८ सालमा पार्टीको क्रियाशील सदस्यता लिएका थिए।
उनी २०६७, २०७२ र २०७८ सालमा महासमिति सदस्य बनेका थिए। २०७८ सालमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको जिम्मेवारीसमेत सम्हालेका श्रेष्ठ अहिले क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।
श्रेष्ठ अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा पनि लामो समयदेखि सक्रिय छन्। २०६३ सालमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ स्थापना गरी नेतृत्व गरेका उनी उक्त संस्था कांग्रेसको भ्रातृ संस्थाका रूपमा मान्यता पाएपछि २०६६ सालमा अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।
उनले समाज कल्याण परिषद्को सदस्य तथा अपाङ्गता सम्बन्धी प्रधानमन्त्रीको सल्लाहकार समितिको सल्लाहकारलगायत जिम्मेवारीसमेत सम्हालेका छन्।
अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै श्रेष्ठ २०७८ सालमा जनश्री सेवा पदकबाट विभूषित भएका थिए।

