 
                                                            काठमाडौं - चौधरी ग्रुप (सीजी) र सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक (एमडी) वरुण चौधरीले खजुराहो विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका छन् । उनलाई विशेष रूपमा स्वागत गर्ने जिम्मेवारी बागेश्वरधाम सरकारका गुरुजी धिरेन्द्र कृष्ण शास्त्रीले दिएका थिए।
वरुण चौधरी, नेपाली उद्योगपति तथा अरबपति विनोद चौधरीका छोरा हुन्। उनले चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै सीजी र सिजि कर्प ग्लोबलमार्फत खाद्य पदार्थ, शिक्षा, पर्यटन, इलेक्ट्रोनिक्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका छन् ।
बागेश्वरधाम सरकार, मध्य प्रदेशको छतरपुर जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो, जहाँ धीरेन्द्र कृष्ण शास्त्री आफ्नो आध्यात्मिक प्रवचन र चामत्कारिक क्षमताका लागि लोकप्रिय छन्।
गत वर्ष बागेश्वरधाम सरकारलाई नेपाल ल्याएर हनुमन्त कथा वाचन गराएपछि युवाहरूले चौधरीलाई हिन्दु हृदय सम्राटको उपाधि दिएर प्रशंसा गर्ने गरेका छन् ।
चौधरीले सामाजिक सञ्जाल ईन्साटाग्रममा मोदीको उपस्थितिलाई ‘अटल समर्पण र दूरदर्शी नेतृत्व’ को प्रतीक भन्दै प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘मोदीजीको उपस्थितिले प्रेरणादायी नेतृत्वको प्रतिविम्ब देखाउँछ।’
त्यस्तै, उनले बागेश्वरधाममा प्रस्तावित क्यान्सर अस्पताल तथा अनुसन्धान संस्थानको पहललाई ‘उत्कृष्ट र मानवताका लागि आशा दिने परियोजना’ को रूपमा सराहना गरेका छन् ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    