Harsamaya
देबेन्द्र खड्काले भने - क्षेत्र नम्बर १ को अधिवेशनबारे कुनै निर्णय भएको छैन
कार्यवाहक सभापति देबेन्द्र खड्कालगायत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ र २ को क्षेत्रीय अधिवेशन विवादका कारण स्थगित भएको अवस्थामा पुनः निर्वाचन हुने विषयमा विभिन्न हल्ला चलेपछि क्षेत्र नं. १ का कार्यवाहक सभापति देबेन्द्र खड्काले स्पष्टिकरण दिएका छन्।

क्षेत्रीय कार्यसमितिले शुक्रबार विज्ञप्ति जारी गर्दै स्थगित अधिवेशनको मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धमा केन्द्रबाट हालसम्म कुनै आधिकारिक पत्र वा निर्देशन प्राप्त नभएको जनाएको हो।

क्षेत्र नं. १ को अधिवेशन असोज १३ गते प्राविधिक त्रुटिका कारण सम्पन्न हुन नसकेपछि सोही दिन सूचना जारी गर्दै स्थगित गरिएको थियो। यसबारे केन्द्रीय कार्यालयलाई समेत आवश्यक जानकारीसहित पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ।

तर, स्थगित अधिवेशन असोज १७ गते सञ्चालन हुने भन्ने चर्चा चलेपछि क्षेत्रीय कार्यसमितिले त्यसबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको स्पष्ट पारेको हो।

कार्यवाहक सभापति खड्काका अनुसार अधिवेशन कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने विषयमा पार्टीका कुनै पनि तहका नेतृत्वसँग क्षेत्रीय कार्यसमितिको औपचारिक छलफल वा समन्वय भएको छैन।

विज्ञप्तिमा आधिकारिक निर्णय, निर्देशन तथा कार्यक्रम प्राप्त नभएसम्म कुनै भ्रम वा अन्योलमा नपर्न एकाइ सभापति, क्षेत्रीय प्रतिनिधि तथा सम्बन्धित सबैलाई आग्रह गरिएको छ। आधिकारिक निर्णय प्राप्त भएपछि सोहीअनुसार जानकारी गराइने क्षेत्रीय कार्यसमितिले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update