काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–९ मा क्षेत्रीय प्रतिनिधि चयनलाई लिएर विवाद उत्पन्न भएको छ। वडा अधिवेशनबाट केन्द्रीय सदस्य राधेश्याम पाठकसहित उनका परिवारका ११ जना क्षेत्रीय प्रतिनिधि बनेपछि कांग्रेसभित्रै यसबारे प्रश्न उठेको हो।
रामग्राम–९ को वडा अधिवेशनबाट चयन भएका २४ क्षेत्रीय प्रतिनिधिमध्ये ११ जना पाठककै परिवारका सदस्य रहेको सूची सार्वजनिक भएको छ। सूचीमा चन्द्रशेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, बेदव्यास पाठक, भोला पाठक, विश्वेश्वरप्रसाद पाठक र राधेश्याम पाठकको नाम रहेको छ।
एकै परिवारका ११ जना क्षेत्रीय प्रतिनिधि बनेपछि स्थानीय कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टीभित्रको संगठनात्मक शक्ति प्रयोग गरेर परिवारका सदस्यलाई प्रतिनिधिका रूपमा अघि सारिएको आरोप लगाएका छन्।
तर पाठकले भने आफूले कसैलाई जबर्जस्ती प्रतिनिधि नबनाएको दाबी गरेका छन्। उनका अनुसार वडा अधिवेशनमा निर्वाचन नभई सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन्।
‘११ जना प्रतिनिधि भएका छन् । निर्वाचन भएको होइन, जनताले हाम्रो लगानीलाई देखेर सर्वसम्मत बनाइदिएका हुन्,’ पाठकले भनेका छन्, ‘मैले बनाएको होइन, सर्वसम्मत भएका हुन्। हाम्रो परिवार २ सय जनाको छ, ११ जना हुनु ठूलो कुरा होइन।’
पाठक गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट मधेसी कोटातर्फबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाटै क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ। यही प्रतिनिधिमार्फत माथिल्ला तहका अधिवेशन प्रक्रिया अघि बढ्ने भएकाले रामग्राम–९ को यो चयनले स्थानीय विवादलाई मात्र नभई पार्टीभित्र प्रतिनिधित्व र सर्वसम्मतिको अभ्यासमाथि पनि बहस निम्त्याएको छ।

