Harsamaya
चोरी भएको मोटरसाइकल नम्बर परिवर्तन गरी राख्ने तीन जना पक्राउ
सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर्षीय आशिष गुरुङ र मकवानपुर बाग्मती गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने २२ वर्षीय सन्देश बल ।

काठमाडौं - काठमाडौँबाट चोरी भएको मोटरसाइकलको नम्बर परिवर्तन गरी लुकाएर राख्ने तीन जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर्षीय आशिष गुरुङ र मकवानपुर बाग्मती गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने २२ वर्षीय सन्देश बल रहेका छन्।

गत साउन १८ गते काठमाडौँको नागार्जुन नगरपालिका–१ श्रीनगरबाट गोरखाको भीमसेनथापा गाउँपालिका–५ का विनक श्रेष्ठको बा ८७ प ९२० नम्बरको मोटरसाइकल हराएको थियो। श्रेष्ठले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

प्रहरीका अनुसार चोरी भएको उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४३७ नम्बर राखेर गुहेश्वरीस्थित ड्रिम बाइक रिकन्डिसनमा लुकाएर राखिएको अवस्थामा पुरकुटी र गुरुङलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो।

उनीहरूले उक्त मोटरसाइकल बलसँग १७ हजार रुपैयाँमा किनेको बयान दिएपछि प्रहरीले शुक्रबार नै काठमाडौँको रानीबारीबाट बललाई पक्राउ गरेको हो।

मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

ट्राफिक प्रहरीले सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डल लक तथा डिस्क लकजस्ता सुरक्षा उपकरण प्रयोग गर्न आग्रह गरेको छ। सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update