सुर्खेत - प्रहरीले सुर्खेतमा स्वचालित पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेख आठबीस नगरपालिका–३ का ६५ वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–७ का ४५ वर्षीय भूपेन्द्र शाही पक्राउ परेका हुन्।
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका क्रममा भूपेन्द्र शाहीले जुम्ला खोलीबजार नजिकैको एक खोल्सामा स्वचालित हतियार लुकाइराखेको बताएपछि प्रहरीले खोजी थालेको थियो।
प्रहरी नायब उपरीक्षक कृष्णचन्द्रको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गर्दा खोल्साको झाडीमा कालो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको १०५०२८ नम्बरको पेस्तोल बरामद गरेको हो।
प्रहरीका अनुसार उक्त पेस्तोलमा प्रयोग हुने गोली राउन्ड ५ समेत बरामद गरिएको छ। बरामद हतियार र गोलीलाई सोही दिन राति करिब १२ बजे प्रहरी कार्यालयमा ल्याइएको थियो।
पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

