नुवाकोट - नेपाल प्रहरीले सञ्चालन गरेको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन, बेपत्ताको खोजी तथा डीएनए परीक्षणलाई तीव्रता दिएको छ।
अभियानअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा खोज तथा उद्धार, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण, पुनःस्थापना, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीका काम गरिरहेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद सिलवालका अनुसार भदौ १९ गतेदेखि हालसम्म ६५ शव व्यवस्थापन गरिएको छ भने ४६ नेपाली र एक भारतीय गरी ४७ शवको डीएनए परीक्षण गरिएको छ। परीक्षण गरिएका शवमध्ये आठ महिला, एक बालक र सात बालिका रहेका छन्।
सङ्कलन गरिएका डीएनए नमुनामध्ये ३७ नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ भने १० नमुना पठाउन बाँकी रहेको प्रहरीले जनाएको छ। डीएनए नमुना प्रहरीको लेभल–१ अस्पतालमा सङ्कलन गरिएको हो।
प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई पनि निरन्तरता दिएको छ। रसुवा जिल्लामा आवश्यक सामग्री पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शव व्यवस्थापनमा समेत प्रहरीले सहयोग गरिरहेको छ।
अभियानका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण तथा अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कामसमेत भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे आवश्यक समन्वय पनि भइरहेको छ।
भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा हराइरहेकाको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिटलाई निर्देशन दिएको छ। कुकुर पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना सुरुङलगायत जोखिमयुक्त स्थानमा उद्धार, सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण तथा पीडितका आफन्तलाई प्रभावित क्षेत्रमा लैजाने–ल्याउने काममा केन्द्रित रहेकाले प्रहरीले समुदायकेन्द्रित गतिविधिलाई प्राथमिकता दिएको जनाएको छ।
नेपाल प्रहरीको विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रमार्फत बाढी प्रभावित जिल्लाका प्रहरी युनिटलाई आवश्यक निर्देशन दिइएको छ।
फेला परेका शव वा शरीरका अङ्गको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम पनि भइरहेको छ। प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेमा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न प्रहरीले सहजीकरण गरिरहेको छ।

