Harsamaya
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएपछि गजेन्द्रनारायण सिंह अस्पतालको यस्तो स्पष्टीकरण
गजेन्द्रनारायण सिंह अस्पताल ।

राजविराज - सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाबारे स्पष्टीकरण दिएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा रहेकी ३० वर्षीया बविता कुमारी पासवान अस्पताल पुगेकी थिइन्। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले अतिआवश्यक जाँच गर्न सुझाव दिइएको थियो। तर, त्यसपछि महिला र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको अस्पतालको दाबी छ।

त्यसको करिब दुई घण्टापछि बिहान ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी अस्पतालले पाएको जनाएको छ। प्रसूतिपछि आमा र नवजात शिशुलाई सालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न पटक–पटक आग्रह गरेको अस्पतालको भनाइ छ।

तर, अस्पतालका अनुसार ती महिला त्यसपछि अस्पतालबाट बाहिरिएकी थिइन्।

हाल आमा र नवजात शिशु दुवै अस्पतालमै भर्ना भएर स्वास्थ्यकर्मीको निगरानीमा उपचार तथा आवश्यक स्याहार लिइरहेका छन्। अस्पतालले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

‘गेटमै प्रसूति हुनु गम्भीर विषय’
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि अस्पतालले घटनालाई सामान्य रूपमा नलिएको जनाएको छ। अस्पताल प्रशासनले स्वास्थ्य संस्थाको गेटमै महिलाले बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय भएको स्वीकार गरेको छ।

घटनाको वास्तविकता पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन अघि बढाउने जनाएको छ। छानबिनबाट कर्मचारी वा सम्बन्धित पक्ष दोषी देखिए प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्ने अस्पतालको प्रतिबद्धता छ।

त्यस्तै, सम्बन्धित निकायले बाह्य छानबिन समिति गठन गरे त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउने अस्पतालले जनाएको छ।

अस्पतालले आमा र नवजात शिशुलाई अब आवश्यक सम्पूर्ण उपचार, औषधि तथा सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ।

तर, अस्पतालमै भर्ना गरिएकी गर्भवती महिला अस्पतालको मूल गेटबाहिरै पुगेर प्रसूति हुनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न भने घटनाले गम्भीर रूपमा उठाएको छ। बिरामी अस्पतालमा भर्ना भइसकेपछि प्रसूति सेवा व्यवस्थापन, निगरानी र स्वास्थ्यकर्मीको समन्वयमा कमजोरी भयो कि सेवाग्राही पक्षकै कारण यस्तो अवस्था सिर्जना भयो भन्ने विषय छानबिनबाट स्पष्ट हुनुपर्ने देखिन्छ।

अस्पतालले पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, प्रसूति सेवा व्यवस्थापन र सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  ०६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update