काठमाडौं - स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
मन्त्री मेहताले यो घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन टोली राजविराज पठाएको जानकारी दिएकी छन् ।
‘हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार,सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्छ। त्यसैले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ मन्त्री मेहताले भनेकी छन्, ‘घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको छ र अस्पतालसँग स्पष्टीकरणसमेत माग गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइनेछ।’
छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्री मेहताको भनाइ छ ।
बुधबार बिहान सगरमाथा अस्पताल सुत्केरी गराउन गएकी बबिता पासवानलाई बिनापैसा उपचार गराउन नसक्ने भनेपछि उनी अस्पतालबाट बाहिरिएकी थिइन् । उनले राति नै बच्चालाई फुटपाथमा जन्म दिएकी थिइन् ।

