काठमाडौं - कृष्णभीर सडकखण्डमा भएको सडक अवरोधका कारण एलपी ग्यासको ढुवानी तथा आपूर्ति व्यवस्थापनमा केही असहज परिस्थिति सिर्जना हुन सक्ने भन्दै सगरमाथा ग्यास इन्डष्ट्रिज प्रालिले उपभोक्ता तथा विक्रेतालाई सचेत रहन आग्रह गरेको छ।
कम्पनीले सडक अवरोधका कारण आपूर्ति प्रणालीमा अस्थायी चुनौती देखिन सक्ने भए पनि त्यसलाई बहाना बनाएर डिपो, डिलर वा विक्रेताले उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुल्न, कृत्रिम अभाव सिर्जना गर्न वा अनुचित रूपमा मूल्य वृद्धि गर्न नहुने स्पष्ट पारेको छ।
कम्पनीका अनुसार नेपाल एलपी ग्यास उद्योग संघले २०८३ भदौ १९ गते निर्धारण गरेको प्रतिसिलिन्डर एलपी ग्यासको उपभोक्ता मूल्य २ हजार ६५ रुपैयाँ ३६ पैसा (भ्याटसहित) कायम रहेको छ। सो मूल्यभन्दा बढी रकम कुनै पनि बहानामा नलिन कम्पनीले आग्रह गरेको छ।
सगरमाथा ग्यासले उपभोक्तालाई ग्यास खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र बढी मूल्य माग्ने डिपो, डिलर वा विक्रेताबारे सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरेको छ।
त्यस्तै, सडक अवरोधलाई आधार बनाएर अतिरिक्त रकम माग्ने, अस्वाभाविक रूपमा मूल्य बढाउने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न डिलर तथा विक्रेतालाई चेतावनीसमेत दिइएको छ।
कम्पनीले ग्यासको अनावश्यक भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। साथै, आपूर्ति सहज बनाउन सम्बन्धित निकाय तथा आफ्ना वितरण सञ्जालसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।
उपभोक्ताको हित संरक्षण र पारदर्शी आपूर्ति प्रणाली कायम गर्नु कम्पनीको प्राथमिकता रहेको सगरमाथा ग्यासले जनाएको छ।

