सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५७६ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।
नेपाल–चीन सीमावर्ती कोदारी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ पठाइएको हो।
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि २२ गतेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो।
सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, १९ गते १५५ जना, २० गते ९६ जना, २१ गते दिउँसो १०५ जना र २२ गते दिउँसो १०६ जना गरी कुल ५७६ जना नेपाली स्वदेश फर्किएका हुन्।
उनीहरूलाई स्थानीय तह तथा विभिन्न संघ–संस्थासँगको समन्वयमा सवारी साधनको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले विपद्का कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार तथा स्वदेश फिर्तीमा आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिएका छन् ।

