Harsamaya
रसुवादेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सेना खोज तथा उद्धारमा परिचालित
उद्धारमा राहत ।

काठमाडौं - रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत ढुवानी तथा अवरुद्ध सडक र पुल सञ्चालनको कामलाई तीव्रता दिएको छ।

नेपाली सेनाका अनुसार ९ हजार ३ सयभन्दा बढी सैनिक प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले विभिन्न प्रभावित क्षेत्रबाट आज दिउँसो १ बजेसम्म थप पाँच जनाको हवाई उद्धार गरेको छ। हालसम्म हवाई साधनमार्फत ३ हजार ९६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६९२ नेपाली र २७५ विदेशी नागरिक छन्।

देवीघाटमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माणको काम अघि बढाएको छ। ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी जडान कार्यलाई तीव्र बनाएको छ।

जलविद्युत् आयोजनाका टनेलमा खोजी
रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोलीले आयोजनाका प्रतिनिधिसहित पावरहाउस र नियन्त्रण केन्द्रसम्म पुगेर खोजी गरिरहेको छ।

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावरहाउस तथा टनेलमा नेपाली सेनाको टोली उद्धार उपकरणसहित खोजीमा जुटेको छ। त्रिशूली–३ बीमा अडिट–२ बाट प्रवेश गरी अडिट–१ बाट निस्किएको टोलीले अडिट–२ टनेलबाट उत्खनन उपकरण लैजान सक्ने गरी बाटो सफा गरिरहेको छ।

चिलिमे जलविद्युत् आयोजनामा स्वदेशी तथा विदेशी टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ। टोली पावरहाउसबाट करिब ५०–६० मिटर नजिक पुगेको सेनाले जनाएको छ। स्याफ्रुबेंसीमा एक्स्काभेटर टनेल क्षेत्रमा पुर्‍याउन ‘स्लिङ अपरेसन’ भइरहेको छ।

माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत टनेलभित्र थप खोजी गर्ने तयारी गरेको छ।

३३ सयभन्दा बढीले पाए स्वास्थ्य सेवा
प्रभावित क्षेत्रमा मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत खोज तथा उद्धार भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीबाट हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा लिएका छन्।

यसैबीच, त्रिशूलीमा अत्यावश्यक उपचारका लागि २० वटा अक्सिजन सिलिन्डर हवाई साधनमार्फत ढुवानी गरिएको छ।

सेनाले खोज तथा उद्धारसँगै राहत सामग्री ढुवानी, शव व्यवस्थापनमा सहयोग, सडक तथा पुल सञ्चालन र प्रभावित क्षेत्रमा आपत्कालीन उपचारलाई समेत निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update