काठमाडौं - रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपाललाई विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत तथा उद्धारका लागि सहयोग आउने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन थालेको हो।
भारतले पाँच चरणमा गरी हालसम्म ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा उद्धारका लागि भारतले विज्ञ टोलीसमेत परिचालन गरिरहेको छ।
चीनले नेपाललाई ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। प्रभावित क्षेत्रमा आवश्यक पर्ने ३० वटा बेलीब्रिज उपलब्ध गराउन नेपाल सरकारले चीनसँग आग्रहसमेत गरेको छ।
यस्तै पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।
अमेरिकाले ५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने जनाएको छ भने विशेषज्ञ र ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने तयारी गरेको छ।
यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ।
यस्तै, बेलायतले ५० लाख पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ। युरोपेली सङ्घले २० लाख युरो, स्विट्जरल्याण्डले १० लाख अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।
त्यसैगरी आयरल्यान्डले ५ लाख युरो, चेक गणतन्त्रले २५ लाख चेक कोरुना र नर्वेले १ करोड २७ लाख नर्वेजियन क्रोनर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। लक्जेम्बर्ग र लातभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन्।
भोटेकोशी बाढीपछि ठूलो मानवीय संकटमा परेको नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट नगद, खाद्यान्न, उद्धार सामग्री, विशेषज्ञ टोली र पूर्वाधार सहयोग प्राप्त भइरहेको छ।

