नुवाकोट - भोटेकोशी नदीमा आएको बाढीमा परी कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरको परिवारलाई सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भेटेर समवेदना व्यक्त गरेका छन् ।
महानिरीक्षक पौडेल नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको घरमै पुगेर शोकमा रहेका परिवारजनसँग भेट गरेका हुन् ।
नागरिकको जिउधनको सुरक्षाका लागि बाढीको जोखिममा समेत अग्रपंक्तिमा खटिएका कुँवरलाई भदौ १० गते आएको बाढीले बगाएको थियो।
परिवारसँगको भेटमा महानिरीक्षक पौडेलले नागरिकको सुरक्षाका लागि खटिँदा कुँवरले देखाएको साहस र बलिदान सशस्त्र प्रहरी संगठनले कहिल्यै नबिर्सने बताए । उनले दुःखको यस घडीमा परिवारलाई संगठनको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता जनाए ।
महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलको परिवारसँग पनि भेट गरी समवेदना व्यक्त गरे ।
बेपत्ता सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारणको खोजी र उद्धारलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै उहाँले कठिन मौसम र जोखिमपूर्ण भूगोलका बाबजुद खोजी तथा उद्धार टोली निरन्तर परिचालन भइरहेको जानकारी दिए ।
राष्ट्र र नागरिकको सेवामा खटिँदा आफ्ना सदस्य गुमाउनुपरे पनि सशस्त्र प्रहरी बल खोजी, उद्धार र विपद् व्यवस्थापनको कामबाट पछि नहट्ने महानिरीक्षक पौडेलले बताए ।

