Harsamaya
रसुवा बाढी : मृतकको संख्या १२५३ पुग्यो, अझै ४ हजार ९१६ सम्पर्कविहीन
बाढीमा मृत्यु भएकाहरू ।

काठमाडौं - रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १८ गते अपराह्न २ बजेसम्म विभिन्न स्थानबाट १ हजार २५३ जनाको शव फेला परेको हो।

फेला परेका शवमध्ये रसुवामा १३७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ जना छन्। हालसम्म ९५ शव सनाखत भएका छन्।

बाढीपछि अझै ४ हजार ९१६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमा नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १३, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका ३, रसुवाका करिब ६६५ र नुवाकोटका करिब १ हजार ५८२ जना छन्। यस्तै विदेशी नागरिक ५५३, विदेशी पर्यटकसँगै गएका नेपाली १६४, जलविद्युत् आयोजनाका करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, क्वारेन्टाइन कार्यालयका ३, जनप्रतिनिधि ६, स्थानीय तहअन्तर्गतका कर्मचारी ३२ र निजी विद्यालयका शिक्षक १ जना सम्पर्कविहीन छन्।

बाढीमा घाइते भएका ५ हजार १३५ जनाको उपचार भएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाको स्वास्थ्य उपचार गरिएको छ।

११ हजारभन्दा बढीको उद्धार
हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत विदेशी २७३ र नेपाली ४ हजार ९१ गरी ४ हजार ३६४ जनाको उद्धार गरेको छ। नेपाली सेनाले हालसम्म ६७५ पटक हवाई उडान गरेको छ भने काठमाडौँबाट निजी हेलिकप्टरमार्फत १२९ पटक उडान गरिएको छ।

उद्धार तथा खोजीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन्।

राहत सामग्री पनि पठाइँदै
काठमाडौँबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरबाट समेत ९ पटक खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याइएको प्राधिकरणले जनाएको छ।

नेपाल सरकारबाट रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। प्रभावित १५ पालिकाका लागि समेत १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update