Harsamaya
नुवाकोटमा १७७ शव फेला

त्रिशूली - भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव खोजी तथा सङ्कलनको प्रारम्भिक चरण नुवाकोटमा सकिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार हालसम्म १७७ जनाको शव फेला परेको छ। तीमध्ये १६ जनाको पहिचान भएपछि परिवारलाई बुझाइएको छ भने पहिचान हुन बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

नेपाली सेनाको हेलिकप्टर, नेपाल प्रहरीका ड्रोन क्यामेरा तथा तालिमप्राप्त कुकुरको प्रयोग गरी जिल्लाका विभिन्न ३० स्थानलाई आधार बनाएर जमिनको सतहमा रहेका शव खोजी तथा सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

अब प्रहरीले उत्खनन र खानतलासीमार्फत पुरिएका शव खोज्ने काम सुरु गर्ने भएको छ। संयुक्त सुरक्षा टोलीमार्फत भइरहेको खोजीमा जमिनमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ भने शवलाई हवाई माध्यमबाट काठमाडौँ ल्याउन नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउँदै आएको छ।

सोमबार बेत्रावतीस्थित बच्चु अवस्थीको घर परिसरबाट मात्रै एकै ठाउँमा २१ वटा शव फेला परेका थिए। सार्वजनिक सवारीसाधन रोकेर सुरक्षित स्थान ठानी त्यहाँ आश्रय लिएका व्यक्तिहरू बाढीमा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

बेत्रावती, सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटलगायत क्षेत्रमा घर तथा सडकमा थुप्रिएको गेग्रान र लेदो हटाउँदै प्रहरीले पुरिएका स्थानमा शव खोजी सुरु गरेको छ।

प्रारम्भिक चरणमा ३० स्थानमा खटिएका टोली अब मुख्य प्रभावित बस्तीमा केन्द्रित भएर खोजी तथा उत्खनन गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update