काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ५० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १६ गते साँझ ६ बजेसम्म विभिन्न जिल्लामा १ हजार ५० जनाको शव फेला परेको हो।
फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जना छन्।
बाढीमा परी २९२ जना घाइते भएका छन् भने करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये रसुवामा करिब ८६५ र नुवाकोटमा करिब १ हजार ५५८ जना रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै ५८३ विदेशी नागरिक र विदेशी पर्यटकसँगै घुम्न गएका १६४ नेपाली पनि सम्पर्कविहीन छन्।
हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले मात्रै हवाई माध्यमबाट २७३ विदेशी र ४ हजार ९१ नेपाली गरी ४ हजार ३६४ जनाको उद्धार गरेको छ। सेनाले हालसम्म ६१० पटक हवाई उडान गरेकोमा आज मात्रै ८४ उडान गरेको छ।
राहतका लागि हालसम्म ३७ ट्रक, ३७ बोलेरो र हेलिकप्टरबाट ९ उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। आज थप १४ गाडी राहत सामग्री पठाइएको छ।
सरकारले प्रभावित १५ स्थानीय तहका लागि थप रु. ६ करोड ७५ लाख निकासा गरेको छ। यसअघि रसुवालाई रु. १ करोड, नुवाकोटलाई रु. १ करोड र धादिङलाई रु. ५० लाख नगद राहत उपलब्ध गराइएको थियो।
प्राधिकरणका अनुसार सुरक्षाकर्मी २१ हजार ३१४ जना खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन्। हाल ३ हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेका छन्।

