सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका बाह्रविसे नगरपालिकाका नागरिकका परिवारलाई नगरपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ।
नगर कार्यपालिकाको ९९औँ बैठकले मृतक तथा बेपत्ता परिवारलाई प्रति परिवार १ लाख १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए । उक्त रकम नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट प्रदान गरिनेछ।
नगरपालिकाका अनुसार बाढीअघि कामको सिलसिलामा रसुवा पुगेका बाह्रविसेका ६१ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ६० जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोज तथा उद्धारका लागि संघीय सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख बस्नेतले विपद्को यस कठिन घडीमा पीडित परिवारको साथमा नगरपालिका रहेको बताउँदै उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

