काठमाडौं - माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढीका कारण फसेका व्यक्तिको उद्धार कार्य सरकारले रातभर निरन्तर जारी राखेको छ।
आज बिहान करिब ४ बजे पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको बहाव बढेसँगै आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान हुन थालेको छ।
सरकारले उच्च सतर्कताका साथ आयोजनाको अवस्था र क्षतिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी गरेको छ।
यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायत महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्न हेलिकप्टरमार्फत विशेष टोली परिचालन गर्ने तयारी गरिएको छ।
सडक पहुँच अवरुद्ध रहेकाले पुरिएको भवन नजिक हेलिकप्टरबाट टोली उतारेर उपकरण निकाल्ने योजना बनाइएको छ।

