Harsamaya
घरमा दाजुभाई सँगै भेट्ने वाचा अधुरै राखेर बेपत्ता भए हरेन्द्र
सुरेन्द्र यादव ।

काठमाडौं - रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् । नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् । 

हरेन्द्रका दाई सुरेन्द्र यादव पनि नेपाल प्रहरी तनहुँमा कार्यरत छन् । सुरेन्द्रका अनुसार भाइसँग सोमबार अन्तिमपटक कुराकानी भएको थियो। त्यसबेला हरेन्द्रले आफू घर आउने र दाइलाई पनि बिदा लिएर घर आउन आग्रह गरेका थिए ।

‘म घर आउँछु, आइज तँ पनि बिदा लिएर, सँगै भेट हुन्छ,’ भाइसँग भएको संवाद सुनाउँदै सुरेन्द्रले भने ।

सुरेन्द्रले पनि भाइलाई आफू भएको ठाउँमा आउन र त्यहीँबाट सँगै घर जाने कुरा गरेका थिए । त्यसमा हरेन्द्रले ‘ल–ल’ भनेर जवाफ दिएको सुरेन्द्रले बताए ।

भाइसँग भएको अन्तिम कुराकानी सम्झिँदा सुरेन्द्र भावुक बनेका थिए । लामो समयदेखि प्रहरी सेवामा रहेका भाइसँग सामान्य रूपमा भएको उक्त कुराकानी नै अन्तिम बन्न पुगेपछि उनी भावविह्वल छन् । 

सुरेन्द्रका अनुसार हरेन्द्रले प्रहरी सेवामा करिब १४ वर्ष बिताइसकेका छन् । दुवै दाजुभाई प्रहरी सेवामै कार्यरत रहेकाले परिवारमा पनि उनीहरूको सेवाप्रतिको गर्व थियो। तर, बाढीमा परी भाई बेपत्ता भएपछि परिवार चिन्तित र शोकमा छ।

नेपाल प्रहरीले सार्वजनिक बेपत्ता भएकाहरुको सूचीमा हरेन्द्रको नाम पनि समावेश छ । उनको अवस्था अझै अज्ञात रहेकाले परिवार उनको खोजी तथा सकुशल उद्धारको प्रतीक्षामा छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update