Harsamaya
पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित :  डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढीपहिरो लगायत विपद्मा ज्यान गुमाएका र पहिचान खुल्न बाँकी रहेका शवहरू हतारमा व्यवस्थापन नगर्न सरकारलाई आग्रह गरेका छन्।

भोटेकोशी लगायतका क्षेत्रमा आएको विपद्मा मृत्यु भएकाहरूको पहिचान नजानी दाहसंस्कार वा गाड्ने कार्य भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले पीडित परिवारसँग पर्याप्त परामर्श र वैज्ञानिक पहिचानबिना शव व्यवस्थापन गरिनु न्यायोचित नभएको बताए।

शव गृह (मर्चरी) को अभाव भए शीत गृह वा युद्धस्तरमा अल्पकालीन मर्चरीको व्यवस्था गरेर भए पनि पहिचान प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

खोजी तथा उद्धार जारी रहँदा आफन्तजन आफ्ना मान्छेको पर्खाइमा रहेको उल्लेख गर्दै उनले सरकारलाई संवेदनशील र पारदर्शी बन्न आग्रह गरे। डीएनए परीक्षण र वैज्ञानिक विधि पूरा नगरी शव व्यवस्थापन गर्दा पीडित परिवारले आफ्ना सदस्यको अन्तिम संस्कार गर्न पाउने अधिकार समेत खोसिने भन्दै सर्वसाधारण र नागरिक समाजले पनि सरकारको कदमप्रति आक्रोश व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update