Harsamaya
 २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
बाढीपिडीतको उद्वार गर्दै नेपाली सेना ।

काठमाडौं - रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका विभिन्न देशका २६१ पर्यटकको उद्धार गरिएको छ। अझै ३२० पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकमध्ये १६ देशका २६१ जनाको उद्धार गरिएको हो।

उद्धार हुनेमा भारतका १६७, चीनका ४०, युक्रेनका ८, जर्मनीका ४, माल्टा ४, इटाली ३, अमेरिका ३ लगायत विभिन्न देशका पर्यटक छन्। देश तथा परिचय नखुलेका थप २१ जनाको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।

सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरीसहितका निकायले प्रभावित क्षेत्रमा अभियान तीव्र बनाएका छन्।

बोर्डले घाइते तथा अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको जनाएको छ। पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै बोर्डले टोल फ्री १२३४, हटलाइन ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update