Harsamaya
पहिचान नखुलेका २२८ शवलाई ‘नम्बर’ दिएर सुरक्षित राखिँदै, परिवार आए निकालेर जिम्मा लगाइने
त्रिशुलीमा शव निकाल्दै ।

चितवन - भोटेकोशी बाढीपछि त्रिशूली हुँदै नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवको व्यवस्थापनमा प्रशासनले नयाँ प्रक्रिया अपनाएको छ।

चितवनमा फेला परेका २३३ शवमध्ये पाँच जनाको मात्रै सनाखत भएपछि बाँकी २२८ शवलाई सुरक्षित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न लागिएको हो। शव सड्न थालेपछि संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शवलाई अस्थायी रूपमा समाधिस्थ गर्न लागिएको हो।

भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिक जंगलमा तीनवटा ठूला खाडल तयार पारिएका छन्। करिब १.५ मिटर गहिरा खाडलमा शवलाई ‘डेड बडी ब्याग’मा राखेर व्यवस्थापन गरिनेछ।

प्रहरीका अनुसार शव गाडिएपछि पनि उनीहरूको पहिचान हराउने छैन। प्रत्येक शवबाट डीएनए नमुना सुरक्षित राखिनेछ भने हात वा खुट्टामा नष्ट नहुने कोड नम्बरको ट्याग लगाइनेछ। जमिनमाथि समेत सोही नम्बर उल्लेख गरिएको संकेत राखिनेछ।

अन्तर्राष्ट्रिय रेडक्रसको विपद् व्यवस्थापन मापदण्डअनुसार शवबीच ४० सेन्टिमिटर दूरी कायम गरी राखिनेछ।

प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बेपत्ता व्यक्तिका परिवारले सम्बन्धित जिल्ला अस्पतालमा डीएनए नमुना दिएर पहिचान प्रक्रिया अघि बढाउन सक्नेछन्। परिवारको डीएनए र सुरक्षित शवको नमुना मिलेमा कोड नम्बरका आधारमा शव निकालेर परिवारलाई ससम्मान जिम्मा लगाइनेछ।

शव व्यवस्थापनको सम्पूर्ण प्रक्रिया मुचुल्का, भिडियो, तस्बिर र जीपीएस विवरणसहित अभिलेख गरिनेछ। समाधिस्थ गरिएको क्षेत्रलाई सुरक्षित राख्न तारबारसमेत गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update