Harsamaya
शशांक कोइरालाको दाबी : आधिकारिकता विवाद टुंगिएपछि मात्रै कांग्रेसको महाधिवेशन
नेपाली कांग्रेस इतर समूहका संयोजक डा. शशांक कोइराला ।

काठमाडौं - नेपाली कांग्रेस इतर समूहका संयोजक डा. शशांक कोइरालाले पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै पनि पक्षले पार्टीमा थप विवाद वा विभाजन निम्त्याउने गतिविधि गर्न नहुने बताएका छन्।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

उनले पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको पदावधि यही मंसिर मसान्तमा तथा संविधानअनुसार थपिएको अवधि छ महिनामा समाप्त हुने उल्लेख गरेका छन्। साथै स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन करिब एक वर्षमा हुने भएकाले कांग्रेसलाई एकताबद्ध, सबल र सक्षम बनाउनुपर्नेमा जोड दिएका छन्।

कोइरालाले आवेग, उत्तेजना, गालीगलौज र षड्यन्त्रबाट नभई संयमता, धैर्यता र हार्दिकताका साथ कांग्रेसलाई पुनः सबल र लोकप्रिय पार्टीका रूपमा निर्माण गर्नुपर्ने बताएका छन्।

उनले सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा कुनै पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाउनु पार्टीमा थप विवाद र विभाजन निम्त्याउने काम हुने भन्दै त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update