Harsamaya
चीनको स्पष्टीकरणः भोटेकोशी बाढीबारे नेपाललाई महत्वपूर्ण सूचना समयमै दिइएको थियो

काठमाडौं - भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे नेपाललाई पूर्वसूचना नदिएको आरोपप्रति नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ।

चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै हिमालय क्षेत्रमा जोखिमका स्थानहरू अत्यन्तै छरिएर रहेका तथा अधिकांश हिमताल र हिम–चट्टानका संरचना समुद्र सतहबाट ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उच्च हिमाली क्षेत्रमा रहेकाले नियमित स्थलगत सर्वेक्षणबाट प्रभावकारी निगरानी गर्न कठिन हुने बताएका छन्।

दूतावासले हिमाली क्षेत्रमा जोखिम पहिचान, निगरानी र मूल्याङ्कनका लागि चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निरन्तर काम गर्दै आएको र महत्वपूर्ण सूचना नेपाली पक्षलाई समयमै उपलब्ध गराउँदै आएको दाबी गरेको छ।

विज्ञप्तिमा नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर समन्वय हुँदै आएको उल्लेख छ। गत मे महिनामा चीनको जलस्रोत मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागको टोलीले नेपाल भ्रमण गरी सीमापार विपद् सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा नेपालका सम्बन्धित निकायसँग महत्वपूर्ण प्रगति गरेको दूतावासले जनाएको छ।

यस्तै, अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरणसम्बन्धी संस्थानको टोलीले नेपाल भ्रमण गरी हिमताल निगरानीसम्बन्धी चिनियाँ अनुभव आदानप्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार अगस्ट २६ मै चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरी विपद्को अवस्थाबारे मूल्याङ्कन तथा तथ्याङ्क आदानप्रदान गरेको थियो। चीनले हाल पनि नेपालसँग सीमापार विपद्सँग सम्बन्धित जल तथा मौसमसम्बन्धी सूचना, अवरोधका कारण बनेको तालको निगरानी तथ्याङ्कलगायत जानकारी आदानप्रदान गरिरहेको जनाएको छ।

चीनले ‘माजु’ नामक चिनियाँ बुद्धिमान् मौसम पूर्वचेतावनी प्रणालीमार्फत नेपाललाई प्रारम्भिक अनुकूलित सेवा उपलब्ध गराएको समेत दूतावासले जनाएको छ।

चिनियाँ दूतावासले यी प्रयासले नेपालसँग विपद् रोकथाम तथा व्यवस्थापनमा सहकार्यप्रति चीनको गम्भीरता र प्रतिबद्धता स्पष्ट हुने बताउँदै आगामी दिनमा नेपाल–चीनबीचको सूचना आदानप्रदान तथा सहकार्य अझ गहिरो हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update