काठमाडौं - काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न आव्हान गरेको छ।
कार्यालयले काठमाडौँभित्र रहेका विभिन्न संघसंस्था, कम्पनी, क्लब तथा नागरिकलाई खाद्यान्न, लत्ता–कपडा, भाँडाकुँडा तथा घरायसी प्रयोजनका अत्यावश्यक सामग्री संकलन गरी उपलब्ध गराउन आग्रह गरेको हो।
संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालय काठमाडौँमा एकद्वार प्रणालीमार्फत जम्मा गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राहत उद्धारमा खटिएका निकायको समन्वयमा प्रभावित नागरिकसम्म पुर्याइने कार्यालयले जनाएको छ।
राहत सामग्रीसम्बन्धी जानकारी तथा समन्वयका लागि प्रशासनिक अधिकृत सुजन कुमारी खड्कालाई सम्पर्क गर्न आग्रह गरिएको छ।
यस्तै, नगद सहयोग गर्न इच्छुकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध गराइएको क्यूआरमार्फत मात्र रकम जम्मा गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

