नुवाकोट - त्रिशूली नदीमा आएको भीषण बाढीबाट नुवाकोटमा हालसम्म ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणअनुसार बाढीबाट ४० जना घाइते भएका छन्। मृत्यु भएका ५१ जनाको शव फेला परे पनि अझै सनाखत हुन बाँकी रहेको उल्लेख छ।
बाढीबाट विदुर नगरपालिका–१, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिका–४, ७, ८ र ९ तथा तारकेश्वर गाउँपालिका–२ र ४ एवं किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र प्रभावित भएका छन्।
बाढीबाट सरकारी भवन, जलविद्युत् गृह, विद्यालय, निजी घर, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनका अनुसार हेलिकप्टरमार्फत हालसम्म १ हजार ८२३ जना र स्थलमार्गबाट ५४ जनाको उद्धार गरिएको छ। विस्थापित नागरिकका लागि विभिन्न स्थानमा आश्रयस्थलको व्यवस्था गरिएको छ।
बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, रेडक्रस, सञ्चारकर्मी तथा आमनागरिकसँग सहयोगका लागि अपिल गरिएको छ।

