Harsamaya
पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी
पृथ्वी राजमार्ग ।

काठमाडौं - भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् ।

बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।

उनका अनुसार नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गको अवस्था प्रभावित भएकाले हाल सवारीसाधन रोकिएको छ । सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।

बाढीपछि थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई भने काठमाडौं फर्काइएको छ । उनीहरू आफन्तको घरमा आफ्नै व्यवस्थापनमा बसेको सुवेदीले जानकारी दिए । बीच बाटोमा गएर जोखिममा पर्नुभन्दा सुरक्षित रूपमा काठमाडौंमै बस्ने व्यवस्था गरिएको उनले बताए ।

यातायात व्यवसायीसँग समेत प्रहरीले समन्वय गरिरहेको छ । सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर ट्राफिक प्रहरीको आधिकारिक सूचनाका आधारमा मात्रै सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीहरूले आफ्ना सदस्यलाई सर्कुलर गरेको सुवेदीले बताए ।

बीपी राजमार्ग सञ्चालनमा
वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा रहेको छ । यस्तै, फर्पिङतर्फका सडकबाट साना सवारीसाधन सञ्चालन भइरहेका छन् । तर ती सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने तथा अनुमति र रुट परमिटको व्यवस्था पनि लागू हुने सुवेदीले बताए ।

फर्पिङतर्फबाट टाटा सुमोजस्ता साना सवारीसाधन भने सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रहरीका अनुसार सडकको अवस्था निरन्तर अनुगमन भइरहेको छ र सम्बन्धित निकाय तथा यातायात व्यवसायीसँग समन्वय गरी सवारीसाधन सञ्चालनसम्बन्धी निर्णय गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update